“हे मानिसको छोरा, इस्राएलका पर्वतहरूलाई अगमवाणी गरेर भन्, ‘हे इस्राएलका पर्वतहरू हो, याहवेहको यो वचन सुन्।
JA
Copywork
Nepali ONCV Ezekiel 36장
写経は速く終える入力練習ではなく、一節ずつみ言葉の文と流れを改めて受け止める時間です。入力内容はこのブラウザに一時保存され、ログインするとアカウントにも保存されます。
小見出し単位で進める · Ezekiel
प्रभु याहवेह यसो भन्नुहुन्छ: शत्रुहरूले तँलाई भनेका छन्, “अहो! प्राचीन समयका अग्ला ठाउँहरू हाम्रा भएका छन्।” ’
यसकारण अगमवाणी गरेर भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: किनकि तिनीहरूले तिमीहरूलाई चारैतिरबाट नष्ट गरेर लखेटे; यसरी तिमीहरू बाँकी रहेका जातिहरूका अधिकारमा पर्यौ र मानिसहरूका डाह र गिल्लाको पात्र भयौ।
यसकारण हे इस्राएलका पर्वतहरू हो, प्रभु याहवेहको यो वचन सुन: प्रभु याहवेह यसो भन्नुहुन्छ, तिमीहरूका चारैतिरका बाँकी रहेका देशहरूद्वारा डाह र गिल्ला गरिएका, लुटिएका, त्यागिएका सहरहरूलाई, पर्वतहरू र डाँडाहरूलाई, खोल्साहरू र बेँसीहरूलाई र उजाड भग्नावशेषहरूलाई;
प्रभु याहवेह यसो भन्नुहुन्छ: मेरो बल्दो जोशमा बाँकी रहेका जातिहरूको विरुद्धमा र एदोमको विरुद्धमा मैले बोलेको छु; किनकि तिनीहरूका आफ्ना हृदयमा उल्लास र डाह लिएर तिनीहरूले मेरो देशलाई आफ्नो बनाए, ताकि तिनीहरूले त्यसका खर्कहरू लुट्न सकून्।’
यसकारण इस्राएल देशको बारेमा अगमवाणी गरेर पर्वतहरू, डाँडाहरू, खोल्साहरू र बेँसीहरूलाई भन्: ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: हेर, म आफ्नो डाही क्रोधमा बोल्छु; किनकि तिमीहरूले जातिहरूको गिल्ला सहेका छौ।
यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: म हात उठाएर शपथ खान्छु, निश्चय तिमीहरूका चारैतिरका जातिहरूले पनि गिल्ला सहनेछन्।
“ ‘तर हे इस्राएलका पर्वतहरू हो, तिमीहरूले मेरो प्रजा इस्राएलका निम्ति हाँगाहरू र फलहरू उत्पादन गर्नेछौ; किनकि तिनीहरू चाँडै घर फर्कनेछन्।
तिमीहरूका निम्ति म चिन्ता गर्छु, र तिमीहरूलाई निगाहको दृष्टिले हेर्नेछु; तिमीहरूको जमिन जोतिनेछ र बिउ छरिनेछ;
अनि म तिमीहरूका अर्थात् इस्राएलका सबै मानिसहरूका संख्या बढाइदिनेछु। सहरहरूमा फेरि मानिसहरू बसोबास गर्नेछन्, र भग्नावशेषहरू पुनर्निर्मित हुनेछन्।
म तिमीहरूका मानिसहरू र घरेलु पशुहरूको संख्या बढाइदिनेछु; अनि तिनीहरू फलदायक भएर संख्यामा धेरै हुनेछन्। म विगतको समयमा झैँ इस्राएलका मानिसहरूलाई बसोबास गर्न दिनेछु; अनि तिमीहरूलाई पहिलेको भन्दा अझ बढी समृद्धि गराउनेछु। तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्नेछौ।
म मानिसहरूलाई अर्थात् मेरा प्रजा इस्राएललाई तिमीहरूमाथि बसोबास गराउनेछु। तिनीहरूले तिमीहरूलाई अधिकार गर्नेछन्, र तिमीहरू तिनीहरूको उत्तराधिकार हुनेछौ; तिमीहरूले तिनीहरूका छोराछोरीहरूलाई फेरि कहिल्यै पनि खोसेर लानेछैनौ।
“ ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: किनकि केही मानिसहरूले तिमीहरूलाई भन्छन्, “तिमीहरूले मानिसहरूलाई निल्छौ र आफ्ना जातिका मानिसहरूलाई तिनीहरूका सन्तानदेखि वञ्चित राख्छौ।”
यसकारण तिमीहरूले फेरि कहिल्यै पनि मानिसहरूलाई खानेछैनौ, र आफ्नो जातिलाई निःसन्तान बनाउनेछैनौ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
म तिमीहरूलाई फेरि पनि जाति-जातिहरूको गिल्ला सुन्न दिनेछैनँ; अनि तिमीहरूले फेरि पनि जाति-जातिहरूको निन्दा भोग्नुपर्नेछैन, अथवा तिमीहरूका जातिलाई फेरि पतन हुन दिनेछैनँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ”
याहवेहको वचन फेरि मकहाँ आयो:
“हे मानिसको छोरा, जब इस्राएलका मानिसहरू तिनीहरूका आफ्नै देशमा बसे, तिनीहरूले त्यसलाई आफ्ना चालहरू र कामहरूद्वारा अशुद्ध पारे। तिनीहरूका चाल मेरो दृष्टिमा स्त्रीको मासिक-स्रावको अशुद्धता जस्तै थियो।
यसकारण मैले मेरो क्रोध तिनीहरूमाथि खन्याइदिएँ; किनकि तिनीहरूले आफ्ना देशमा रगत बगाए, र तिनीहरूले आफ्ना मूर्तिहरूद्वारा त्यो देश अशुद्ध पारे।
मैले तिनीहरूलाई देशहरूको बीचमा छरपस्ट पारिदिएँ; मैले तिनीहरूका चालहरू र कामहरूअनुसार तिनीहरूको न्याय गरेँ।
अनि तिनीहरू जातिहरूका बीचमा जहाँ गए तापनि तिनीहरूले मेरो पवित्र नामलाई अपवित्र पारे; किनकि तिनीहरूको बारेमा यसो भनिएको थियो, ‘यिनीहरू याहवेहका मानिसहरू हुन्, तर पनि यिनीहरूले उहाँको देश छोड्नुपर्यो।’
मलाई मेरो पवित्र नामको वास्ता थियो, जसलाई इस्राएलका मानिसहरूले तिनीहरू गएका जाति-जातिहरूका बीचमा अपवित्र पारे।
“यसकारण इस्राएलका मानिसहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: हे इस्राएलका मानिसहरू हो, तिमीहरूका खातिर मैले यी कुराहरू गर्न लागेको होइन, तर मेरो पवित्र नामको खातिर, जुन नाम तिमीहरू गएका जाति-जातिहरूका बीचमा तिमीहरूले अपवित्र पारेका छौ।
म मेरो महान् नामको पवित्रता देखाउनेछु, जुन जातिहरूका बीचमा अपवित्र तुल्याइएको छ, त्यो नाम जसलाई तिमीहरूले तिनीहरूका बीचमा अपवित्र पारेका छौ। जब म आफूलाई तिमीहरूद्वारा तिनीहरूकै आँखाको सामु पवित्र प्रमाणित गर्नेछु, तब जाति-जातिहरूले म नै याहवेह हुँ भनी जान्नेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
“ ‘किनकि म तिमीहरूलाई जाति-जातिहरूबाट बाहिर निकाल्नेछु; म तिमीहरूलाई सबै देशहरूबाट जम्मा गर्नेछु, र तिमीहरूलाई तिमीहरूका आफ्नै देशमा फर्काएर ल्याउनेछु।
तिमीहरूमाथि शुद्ध पानी छर्कनेछु; अनि तिमीहरू शुद्ध हुनेछौ; म तिमीहरूका सबै अशुद्धताहरूबाट र तिमीहरूका सबै मूर्तिहरूबाट तिमीहरूलाई शुद्ध पार्नेछु।
म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु, र तिमीहरूमा एउटा नयाँ आत्मा हालिदिनेछु; म तिमीहरूबाट तिमीहरूका ढुङ्गाका हृदय निकाल्नेछु र तिमीहरूलाई मासुको एउटा हृदय दिनेछु।
अनि म मेरो आत्मा तिमीहरूमा हालिदिनेछु; अनि तिमीहरूलाई मेरा उर्दीहरूमा हिँड्ने र मेरा नियमहरू होसियारीसाथ पालन गर्ने तुल्याउनेछु।
तब मैले तिमीहरूका पितापुर्खाहरूलाई दिएको देशमा तिमीहरू बस्नेछौ; तिमीहरू मेरा प्रजा हुनेछौ, र म तिमीहरूका परमेश्वर हुनेछु।
म तिमीहरूलाई तिमीहरूका सबै अशुद्धताबाट बचाउनेछु। म अन्नलाई धेरै फल्न लगाउनेछु, र तिमीहरूमाथि अनिकाल ल्याउनेछैनँ।
म रूखहरूका फलहरू र खेतका अन्नहरू वृद्धि गराउनेछु, ताकि अनिकालको कारण जातिहरूका बीचमा तिमीहरूले फेरि पनि अपमान सहनु नपरोस्।
तब तिमीहरूले आफ्ना दुष्ट चालहरू र दुष्ट कामहरू सम्झनेछौ; अनि तिमीहरू आफैँले आफ्ना पापहरू र घिनलाग्दा कामहरूका निम्ति आफैँलाई घृणा गर्नेछौ।
मैले यो कुरा तिमीहरूको खातिर गरिरहेको छैनँ भन्ने कुरा तिमीहरूले जान्न सक भन्ने म चाहन्छु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। हे इस्राएलका मानिसहरू हो, आफ्ना चालचलनहरूका निम्ति शर्ममा पर, र लज्जित होओ!
“ ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: जुन दिन म तिमीहरूलाई तिमीहरूका पापहरूबाट शुद्ध पार्छु, म तिमीहरूका सहरहरूलाई फेरि बसोबास गराउनेछु; अनि भग्नावशेषहरू पुनर्निर्मित हुनेछन्।
बाटो हिँडनेहरूको नजरमा यो जमिन उजाड रहनुको सट्टा फेरि अन्न उमार्नलाई खनजोत गरिनेछ।
तिनीहरूले भन्नेछन्, “यो उजाड भएर लडिरहेको जमिन अदनको बगैँचाजस्तै भएको छ; भग्नावशेष अवस्थामा भएका, उजाड र सर्वनाश गरिएको अवस्थामा लडिरहेका सहरहरू अहिले सुरक्षित र बसोबास गरिएका छन्।”
तब तिमीहरूका चारैतिर रहेका जातिहरूले थाहा पाउनेछन्, कि म याहवेहले नै भत्काइएका ठाउँहरूलाई पुनर्निर्माण गरेको हुँ; अनि उजाड भएको जमिनलाई फेरि उर्वर भूमिमा पुनर्स्थापित गरिदिएको हुँ। म याहवेहले बोलेको हुँ, अनि म यो गर्ने नै छु।’
“प्रभु याहवेह यसो भन्नुहुन्छ: “म फेरि एक पटक इस्राएलका मानिसहरूको बिन्ती सुन्नेछु, र तिनीहरूका निम्ति यो गर्नेछु: म तिनीहरूका मानिसहरूलाई भेडाहरूजस्तै संख्यामा धेरै बढाइदिनेछु;
तोकिएका चाडहरूको समयमा भेटीको रूपमा यरूशलेममा ल्याइएका बगालहरूजस्तै संख्यामा धेरै बढाउनेछु। यसरी भग्नावशेष अवस्थामा रहेका सहरहरू मानिसहरूका भीडले भरिनेछन्। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।”