तब पावलले महासभातिर टिठ लगाएर हेर्दै भने, “मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, आजका दिनसम्म मैले असल विवेकमा परमेश्वरप्रति मेरो कर्तव्य पूरा गरेको छु।”
EN
Copywork
Nepali ONCV Acts 23장
Copywork is not a speed-typing drill but time to re-hold the words and flow of Scripture, one verse at a time. Your input is saved temporarily in this browser, and to your account when you are signed in.
Practice by section · Acts
यो कुरा सुन्नसाथ प्रधान पुजारी हननियाले पावलका नजिकै उभिएका मानिसलाई उनको मुखमा हिर्काउने आदेश दिए।
अनि पावलले भने, “हे चून पोतिएको भित्ता, परमेश्वरले तपाईंलाई प्रहार गर्नुहुनेछ! व्यवस्थाअनुसार मेरो न्याय गर्न तपाईं त्यहाँ बस्नुभएको छ, तर पनि मलाई हिर्काउने आदेश दिएर तपाईं स्वयम् त्यस कानुनको उल्लङ्घन गर्दै हुनुहुन्छ।”
यो सुनेर पावलका नजिकै उभिनेहरूले उनलाई भने, “तैँले कसरी परमेश्वरका प्रधान पुजारीलाई बेइज्जत गर्ने आँट गरिस्?”
पावलले तिनीहरूलाई जवाफ दिए, “दाजुभाइ-दिदीबहिनीहरू हो, उहाँ प्रधान पुजारी हुनुहुन्छ भन्ने मैले थाहा पाउन सकिनँ; किनकि यस्तो लेखिएको छ: ‘आफ्ना मानिसहरूका शासकलाई नसराप्नू।’ ”
जब पावलले महासभामा कोही सदुकी दलका र कोही फरिसी दलका रहेछन् भनेर थाहा पाए, तब उनले उच्च सोरमा भने, “मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, म फरिसीहरूको छोरा एउटा फरिसी हुँ। मरेकाहरू पुनरुत्थान हुनेछन् भन्ने कुरामा मेरो आशा रहेकोले, म दोषीको रूपमा यहाँ उभिएको छु।”
जब उनले यो कुरा भने, त्यहाँ भएका सदुकीहरू र फरिसीहरूका बीच मतभेद उत्पन्न भयो र महासभामा फाटो आयो।
सदुकीहरू भन्छन् कि मरेकाहरू पुनरुत्थान हुनेछैनन् र स्वर्गदूतहरू, आत्माहरू पनि छैनन्, तर फरिसीहरू यी सबै कुराको अस्तित्व स्वीकार गर्दछन्।
त्यहाँ ठूलो खैलाबैला मच्चियो र फरिसी दलका केही व्यवस्थाका शिक्षकहरू उठेर घमासान तर्क गर्न थाले। तिनीहरूले भने, “यस मानिसमा कुनै किसिमको गल्ती हामी भेट्टाउँदैनौँ। कतै एउटा आत्मा वा स्वर्गदूत पो यस मानिससँग बोलेको हो कि?”
तिनीहरू बीचको झगडा यति हिंसात्मक हुन थाल्यो कि तिनीहरूले पावललाई लुछलाछ पार्लान् कि भन्ने सेनापतिलाई डर भयो। त्यसकारण तिनले आफ्ना सैनिकहरूलाई “तल गई पावललाई तिनीहरूका बीचबाट निकालेर ब्यारेकभित्र लैजाऔ” भन्ने आदेश दिए।
भोलिपल्ट राति प्रभुले पावलको नजिकै उभिएर भन्नुभयो, “साहस गर! यरूशलेममा जसरी तिमीले मेरो बारेमा साक्षी दिइरहेका थियौ, त्यस्तै साक्षी तिमीले रोममा पनि दिनुपर्छ।”
भोलिपल्ट बिहान केही यहूदीहरूले एउटा षड्यन्त्र रचे, र तिनीहरूले पावललाई नमारुन्जेल अन्नपानी ग्रहण नगर्ने शपथ खाए।
यस षड्यन्त्रमा चालीस जनाभन्दा बढी मानिसहरूको संलग्नता थियो।
तिनीहरू मुख्य पुजारीहरू र प्रधानहरूकहाँ गएर भने, “हामीले पावललाई समाप्त नपारेसम्म केही पनि नखाने दृढ शपथ खाएका छौँ।
त्यसैले अब तपाईं र महासभाले त्यसको मुद्दाका बारेमा बढी सही छानबिन गर्नु जरुरी भएको बहाना बनाई त्यस मानिसलाई भोलि महासभामा ल्याउन सेनापतिलाई उजुर गर्नुहोस्; अनि त्यो यहाँ आइपुग्नुभन्दा पहिले नै त्यसलाई मार्न हामी तयार छौँ।”
जब पावलको भानिजले यो षड्यन्त्रको बारेमा सुने, तब तिनी ब्यारेकभित्र गएर सबै कुरा पावललाई बताइदिए।
अनि पावलले एक जना सेनापतिलाई बोलाएर भने, “यस युवकलाई लिएर उच्च सेनापतिकहाँ जानुहोस्; यिनीसँग उहाँलाई भन्नुपर्ने केही कुरा छ।”
अनि उनले तिनलाई सेनापतिकहाँ लिएर गए।
त्यस युवकको हात समातेर सेनापतिले उसलाई केही पर लगी सोधे, “तिमीले मलाई भन्न खोजेको कुरा के हो?”
युवकले भन्यो: “पावलको बारेमा बढी सही छानबिन गर्नु जरुरी भएको बहाना गरेर भोलिको महासभामा उनलाई उपस्थित गराउन तपाईंहरूसँग बिन्ती गर्न केही यहूदीहरूले योजना बनाएका छन्।
तर तपाईं त्यसो नगर्नुहोस्; किनकि चालीस जनाभन्दा बढी मानिसहरू बाटैमा तिनलाई मार्न ढुकेर बस्नेछन्। पावललाई नमारेसम्म अन्नपानी ग्रहण नगर्ने शपथ तिनीहरूले खाएका छन्। हाल तिनीहरूको अनुरोधमा तपाईंको सहमतिलाई पर्खेर तिनीहरू तयार भएर बसेका छन्।”
सेनापतिले तिनलाई यसरी सतर्क गराउँदै त्यहाँबाट बिदा दिए, “यो कुरा तिमीले मलाई भन्यौ भनेर कसैलाई पनि नभन्नू।”
त्यसपछि सेनापतिले आफ्ना दुई जना कप्तानहरूलाई बोलाएर यस्तो आदेश दिए, “आजै राति नौ बजे कैसरिया जानका निम्ति दुई सय सिपाहीहरूको एउटा पल्टन, सत्तरी जना घोडसवारहरू र दुई सय जना भाला बोक्ने सिपाहीहरू तयार पारेर राख।
पावलको निम्ति पनि घोडा तयार गर, ताकि उनलाई राज्यपाल फेलिक्सकहाँ सुरक्षित पुर्याउन सकौं।”
अनि यस किसिमको पत्र तिनले लेखे:
सम्माननीय राज्यपाल फेलिक्सलाई,
यस मानिसलाई यहूदीहरूले समातेर मार्नै आँटेका थिए, तर आफ्ना सिपाहीहरू लिएर म घटनास्थलमा पुगेँ। अनि यिनलाई छुटाएर ल्याएँ; किनकि यिनी एक रोमी नागरिक हुन् भन्ने मैले थाहा पाएँ।
तिनीहरूले पावललाई किन आरोप लगाएका हुन् भनेर म जान्न चाहन्थेँ। त्यसैले मैले तिनीहरूका महासभामा यिनलाई उपस्थित गराएँ।
मैले पत्तो पाएँ, तिनीहरूका व्यवस्थासम्बन्धी प्रश्नहरूलाई लिएर ती आरोपहरू लगाइएका रहेछन्, तर यिनी विरुद्ध ज्यान सजाय वा कैद हुने किसिमको कुनै आरोप छैन।
जब मैले यस मानिसलाई मार्ने एउटा षड्यन्त्र रचिएको थाहा पाएँ, तब यिनलाई तपाईंकहाँ तुरुन्तै पठाउँदैछु। साथै यी मानिसमाथि आरोप लगाउनेहरूलाई पनि यिनका विरुद्ध आफ्नो बयान दिन तपाईंसमक्ष उपस्थित होऊन् भनी आदेश दिएको छु।
त्यो आदेशलाई पूरा गर्न सिपाहीहरूले आफ्नो साथमा पावललाई लिएर राति नै हिँडे र उनलाई एन्टिपाट्रिससम्म ल्याए।
भोलिपल्ट घोडचढीहरूलाई पावलसँग जानको लागि छोडिराखे, र बाँकी सिपाहीहरूचाहिँ ब्यारेकतिर फर्के।
कैसरिया पुगेपछि घोडचढी सिपाहीहरूले राज्यपाललाई पत्र बुझाएपछि पावललाई पनि राज्यपालको सामु प्रस्तुत गराए।
पत्र पढेर राज्यपालले उनी कुन प्रान्तका हुन् भनी सोधे, र उनी किलिकियाका हुन् भन्ने थाहा पाए,
र उनले भने, “तिमीलाई आरोप लाउनेहरू यहाँ आएपछि म तिम्रो सुनुवाइ गर्नेछु।” त्यसपछि तिनले पावललाई हेरोदको दरबारमा सुरक्षाकर्मीहरूका बीचमा राख्न आदेश दिए।