जब हामी समुद्री यात्रा हुँदै इटालीया जानुपर्छ भन्ने निर्णय भयो, पावल र अन्य केही कैदीहरूलाई एक जना राजकीय सैन्यदलका सेनापति युलियसको जिम्मा लगाइयो।
JA
Copywork
Nepali ONCV Acts 27장
写経は速く終える入力練習ではなく、一節ずつみ言葉の文と流れを改めて受け止める時間です。入力内容はこのブラウザに一時保存され、ログインするとアカウントにも保存されます。
小見出し単位で進める · Acts
एड्रामिटेनोसबाट एशियाका विभिन्न बन्दरगाहहरू हुँदै जाने एउटा जहाज चढेर हामीले समुद्रको आफ्नो यात्रा सुरु गर्यौँ। अरिस्तार्खस नाम भएका थेसलोनिकीका एक जना म्यासिडोनी पनि हामीसँगै थिए।
भोलिपल्ट हामी सीदोनमा उत्रियौँ; युलियसले पावलमाथि दया गर्दै आफ्ना मित्रहरूकहाँ जाने अनुमति दिए, ताकि तिनीहरूले उनलाई आवश्यक परेका कुरा दिन सकून्।
त्यहाँबाट हामीले फेरि आफ्नो सामुद्रिक यात्रा सुरु गर्यौँ र जहाजको विपरीत निकै ठूलो बतास चलेको हुनाले साइप्रसको आड लागेर हामी अगाडि बढ्यौँ।
अनि हामी किलिकिया र पामफिलियापारि खुल्ला समुद्रमा पुगेपछि लुकिया प्रदेशको माइरामा उत्रियौँ।
त्यहाँ सेनापतिले इटालीया जाँदैगरेको अलेक्जेन्ड्रियाको एउटा जहाज पाए, र तिनले हामीलाई त्यही जहाजमा चढाए।
धेरै दिनसम्म मन्द गतिमा हाम्रो यात्रा अगि बढ्यो र क्नीडससम्म आइपुग्न हामीलाई धेरै कठिन पर्यो। जब विपरीत दिशाबाट बगेको हावाले हामीलाई चाहेकोतिर अगाडि बढ्न दिएन, तब क्रेटको आड लिँदै हामी सालमोनेको पल्लोपट्टि हुँदै गयौँ।
बडो मुस्किलले हामी त्यसको किनारै-किनार भएर गयौँ, र लासिया सहरको नजिकै भएको सुन्दर बन्दरगाहमा आइपुग्यौँ।
धेरै समय बितिसकेको थियो र हाम्रो यात्रा झन् खतरामय भइसकेको थियो। किनभने प्रायश्चितको दिनको उपवासको समय पनि बितिसकेको थियो। त्यसैले तिनीहरूलाई सचेत गराउँदै पावलले भने,
“हे मानिसहरू हो, हाम्रो यात्रा निकै सङ्कटमय हुनेछ, जहाज अनि यसभित्रका मालसामानका साथसाथै हाम्रै जीवनमा पनि ठूलो खतरा पुग्न सक्ने म देख्दैछु।”
तर सेनापतिले पावलको यो चेतावनीमा ध्यान दिनुको साटो, चालक र जहाजका मालिकको सल्लाहमा काम गरे।
त्यो बन्दरगाहचाहिँ हिउँद काट्नलाई असुविधाजनक हुने भएकोले फोनिक्स पुग्ने र त्यहीँ हिउँद बिताउने आशा राख्दै निरन्तर जहाज चलाइरहने कुरा बहुमतले निर्णय गरे। फोनिक्स क्रेटको बन्दरगाह थियो, जुन दक्षिण-पश्चिम र उत्तर-पश्चिम दुवैतिर फर्केको थियो।
दक्षिणी बतास जब मन्द गतिले चल्न थाल्यो, अनि तिनीहरूले चाहेजस्तै भइरहेको छ भन्ने तिनीहरूले सोचे; त्यसैले तिनीहरूले जहाजको लङ्गर उठाए, र क्रेटको किनारै-किनार हुँदै यात्रा गर्न थाले।
तर तिनीहरू केही पर पुग्नुभन्दा पहिल्यै टापुबाट उत्तर-पूर्वी नामक भीषण समुद्री आँधी चल्न थाल्यो।
त्यस आँधीको चपेटामा जहाज पर्यो, र तीब्र बेगमा चलेको हुरीबाट अगाडि बढ्न सकेन। त्यसैले हामीले त्यसलाई जतातिर जान्छ, त्यतैतिर जाओस् भनेर छोडिदियौँ।
कौडा भन्ने एउटा सानो टापुको आडमा पुगेपछि बडो मुस्किलले हामीले जहाजमा भएको सानो सुरक्षा-डुङ्गालाई बचाउन सक्यौँ।
मानिसहरूले त्यसलाई माथि उठाएपछि जहाजलाई बचाउन मुनिबाट फन्को मारेर डोरीले बाँधे। किनकि सिरटिस भन्ने बलौटे धापमा भासिएला भन्ने डरले तिनीहरूले पाल झारिदिए, र जहाजलाई आफैँ चल्न दिए।
भोलिपल्ट त्यस भयङ्ककर आँधीले जहाजलाई यताउता धेरै हुत्त्याइएकोले गर्दा तिनीहरूले जहाजका सामानहरू फ्याँक्न लागे।
तेस्रो दिन तिनीहरूले आफ्नै हातले जहाजको भारी सरसामानहरूलाई जहाज बाहिर फ्याँकिदिए।
जब धेरै दिनसम्म सूर्य र ताराहरू देखिएनन्, र आँधीबेहरी लगातार चलिरह्यो, तब हामीले बाँचौँला भन्ने सबै आशा नै त्यागिदियौँ।
मानिसहरूले धेरै दिनसम्म खानेकुरा नखाई बसेपछि पावल तिनीहरू सामु उभिएर यसो भने: “मित्रहरू हो, क्रेटबाट अगाडि नबढ्ने मेरो सल्लाहलाई तपाईंहरूले मान्नुभएको भए आज तपाईंहरू यो विपत्ति र नोक्सानबाट बच्न सक्नुहुन्थ्यो।
तैपनि तपाईंहरूलाई मेरो अनुरोध छ, आफ्नो धैर्यलाई नगुमाउनुहोस्। किनकि तपाईंहरूमध्ये कसैलाई पनि केही हुनेछैन; तर जहाजचाहिँ नष्ट हुनेछ।
किनकि म जुन परमेश्वरको हुँ र जसको म सेवा गर्दछु, उहाँकै एक स्वर्गदूत गएको राति मेरा छेउमा आएर उभिए,
अनि भने, ‘पावल, नडराऊ, तिमीले सिजरको सामु साक्षी दिनैपर्छ। अनि तिमीसित यात्रा गरिरहेका सबैको जीवन अनुग्रहका साथ परमेश्वरले तिम्रो हातमा सुम्पिदिनुभएको छ।’
त्यसैले मित्रहरू हो, धैर्य धारण गरेर बस्नुहोस्, किनकि परमेश्वरले मलाई जे भन्नुभएको छ, त्यही कुरा हुनेछ भनी उहाँमाथि मेरो पूर्ण विश्वास छ।
तैपनि हामीचाहिँ कुनै टापुमा बजारिनै पर्छ।”
चौधौँ रात पनि आँधीबेहरीले हाम्रो जहाजलाई एड्रिया समुद्रमा हुत्याइरहेकै थियो, तब मध्यराततिर नाविकहरूले आफूहरू कुनै जमिनको नजिकै पुगेको अनुमान लगाए।
त्यहाँनिर पानीको गहिराइ नाप्दा तिनीहरूले एक सय बीस फिट गहिरो भएको पत्ता लगाए। त्यसको केही समयपछि तिनीहरूले फेरि गहिराइ नापे, र त्यस ठाउँमा नब्बे फिटमात्रै गहिरो रहेको पाए।
हाम्रा जहाज कुनै पनि चट्टानसँगै बजारिन सक्ने डरले जहाजको पछिल्तिरबाट तिनीहरूले चार वटा लङ्गर खसाले, र चाँडै बिहान होस् भनी प्रार्थना गरे।
जहाजबाट भाग्न खोजेर नाविकहरूले केही लङ्गरहरू खसाल्ने बहाना गरी सुरक्षा-डुङ्गालाई समुद्रमा खसाले।
त्यो देखेर पावलले सेनापति र सिपाहीहरूलाई भने, “यी मानिसहरू जहाजमा बसेनन् भने तपाईंहरू बाँच्न सक्नुहुन्न।”
यो सुनेपछि सिपाहीहरूले सुरक्षा-डुङ्गालाई बाँधेको डोरीहरू काटिदिए र त्यसलाई बगेर जान दिए।
झिसमिसे बिहानी हुनुभन्दा अगि पावलले यसो भन्दै सबैलाई भोजन गर्नाका लागि आग्रह गरे, “बितेका चौध दिनदेखि तपाईंहरू निरन्तर व्याकुल हुनुहुन्छ। तपाईंहरूले केही खानुभएको पनि छैन।
अब म तपाईंहरूलाई केही भोजन लिनुहोस् भनी आग्रह गर्दछु। बाँच्नका निम्ति तपाईंहरूलाई यसको आवश्यकता छ। तपाईंहरूमध्ये कसैको शिरबाट एउटा कपाल पनि झर्नेछैन।”
यति भनिसकेपछि उनले केही रोटी लिए, र तिनीहरू सबैका सामु परमेश्वरलाई धन्यवाद दिए। त्यसपछि रोटी भाँचेर उनले खान थाले।
यो देखेर तिनीहरू सबै प्रोत्साहित भए, र तिनीहरूले पनि केही खानेकुरा खान थाले।
हामी सबै मिलाएर त्यस जहाजमा दुई सय छयहत्तर जना थियौँ।
तिनीहरू सबैले यथेष्ट भोजन खाएपछि जहाजमा भएको गहुँ समुद्रमा फालेर त्यसलाई हलुको पारे।
जब उज्यालो भयो, तिनीहरूले त्यो ठाउँ चिन्न सकेनन्; तर बलौटे किनार भएको एउटा खाडी देखेर सम्भव भएमा त्यसै ठाउँमा जहाज किनारा लगाउने तिनीहरूले निर्णय गरे।
तिनीहरूले लङ्गरहरू काटेर तल खसाए, र त्यसलाई समुद्रमै छोडिदिए। त्यस बेला पतवारहरूलाई बाँधेर राखिएको डोरीहरू पनि खोलिदिए। त्यसपछि अगाडिको पाललाई बतासको दिशातिर फर्काइदिए र जहाजलाई किनारातिर जान दिए।
तर बालुवाको थुप्रोमा जहाज ठोक्किन पुग्यो र त्यसैमा भासियो। जहाजको अगिल्लो भाग त्यसैमा अड्कियो र चल्न सकेन; अनि जहाजको पछिल्लो भाग समुद्रका छालहरूका धक्काले टुक्रिन थाल्यो।
कैदीहरूमध्ये कुनै पनि कैदी पौडेर भाग्लान् भनेर सिपाहीहरूले तिनीहरूलाई मार्ने योजना बनाए।
तर सेनापतिले पावलको ज्यान बचाउन चाहन्थे, र सिपाहीहरूलाई तिनीहरूका योजनाबाट तिनले रोके। तिनले पौडी खेल्न सक्नेहरूलाई जहाजबाट हाम फालून् र किनारमा उत्रून् भन्ने आदेश दिए।
अरूहरूलाई चाहिँ फल्याक अथवा जहाजका टुक्राहरूको सहाराबाट किनारमा जाऊन् भन्ने आदेश दिए। यसरी सबै जना सुरक्षित किनारमा पुगे।