फेरि याहवेहको कानमा पुग्ने गरी ती इस्राएली मानिसहरूले आफ्ना कष्टको विषयमा गनगनाउन थाले। जब उहाँले त्यो सुन्नुभयो, तब उहाँको क्रोध दन्क्यो। अनि तिनीहरूका बीचमा याहवेहबाट आगो दन्क्यो र छाउनीका केही बाहिरी भागहरूलाई भस्म पारिदियो।
JA
Copywork
Nepali ONCV Numbers 11장
写経は速く終える入力練習ではなく、一節ずつみ言葉の文と流れを改めて受け止める時間です。入力内容はこのブラウザに一時保存され、ログインするとアカウントにも保存されます。
小見出し単位で進める · Numbers
तब मानिसहरूले मोशासित गोहार मागे। तिनले याहवेहसँग बिन्ती गरे। अनि आगो निभ्यो।
यसकारण त्यस ठाउँलाई तबेरा भनियो। किनकि याहवेहबाटको आगो तिनीहरूका बीचमा दन्केको थियो।
इस्राएलीहरूसँग यात्रा गरिरहेका विदेशीहरूले अरू खानेकुराको निम्ति लालसा गर्न थाले। अनि फेरि इस्राएलीहरूले विलौना गर्दै भन्न थाले, “यदि हामीसँग खानलाई मासु मात्र भइदिए हुन्थ्यो!
हामीले इजिप्टमा सित्तैँमा माछा खान्थ्यौँ। साथै काँक्रा, खरबुजा, कन्दमूल, प्याज र लसुनहरू खाएको सम्झना आउँछ।
तर अब त हाम्रो भोक नै हराएको छ। हामीले यो मन्नबाहेक अरू केही देख्न पाएका छैनौँ!”
मन्नचाहिँ धनियाँको बिउजस्तो र हेर्दा गोमेदको खोटोजस्तो देखिन्थ्यो।
मानिसहरू त्यसलाई बटुल्न बाहिर जान्थे; र त्यसलाई जाँतोमा पिँध्थे अर्थात् ओखलीमा कुट्थे। तिनीहरूले त्यसलाई भाँडामा पकाउँथे, अथवा रोटी बनाउँथे। अनि त्यसको स्वाद जैतुनको तेलमा पकाएको खानेकुराको जस्तो हुन्थ्यो।
जब राति छाउनीमा शीत झर्थ्यो, तब मन्न पनि खस्थ्यो।
मोशाले हरेक परिवारका मानिसहरू आ-आफ्नो पालको प्रवेशद्वारमा विलाप गरिरहेका सुने। याहवेह असाध्यै क्रोधित हुनुभयो, तब मोशा दुःखित भए।
मोशाले याहवेहलाई सोधे, “तपाईंले आफ्नो सेवकमाथि किन यस्तो दुःख ल्याउनुभयो? किन मैले तपाईंको दृष्टिमा अनुग्रह पाएको छैनँ? मैले के गरेर तपाईंलाई अप्रसन्न तुल्याएको छु र तपाईंले यी सबै मानिसहरूको भार ममाथि राखिदिनुभयो?”
“के मैले यी सबै मानिसहरूलाई गर्भधारण गरेको हुँ र? के मैले तिनीहरूलाई जन्माएको हुँ र? तपाईंले किन मलाई तिनीहरूका पुर्खाहरूसँग शपथ खानुभएको देशमा पुर्याउनलाई एउटी धाईआमाले बालकलाई बोकेझैँ, यिनीहरूलाई मेरो अँगालोमा बोक् भन्नुहुन्छ?
मैले यी सबै मानिसहरूका निम्ति मासु कहाँबाट ल्याऊँ? यिनीहरू ‘हामीलाई मासु खान देऊ!’ भनेर मसँग बिलौना गरिरहन्छन्।
यी मानिसहरूलाई म एकलैले बोक्न सक्दिनँ। यो भार मेरा लागि अति गह्रौँ भएको छ।
यदि तपाईंले मसँग यस्तै व्यवहार गर्नुहुन्छ भने कृपया बिन्ती छ, बरु मलाई मारिदिनुहोस्। यदि मैले तपाईंको दृष्टिमा निगाह पाएको छु भने मेरो विनाश म आफैँले हेर्न नपरोस्।”
यो सुनेपछि याहवेहले मोशालाई भन्नुभयो: “तैँले इस्राएली मानिसहरूबाट अगुवाहरू र अधिकृतहरू भनी जानिएका सत्तरी जना प्रधानहरूलाई मकहाँ भेला गर्। तिनीहरू भेट हुने पालमा आऊन्, ताकि त्यहाँ तिनीहरू तँसँग खडा होऊन्।
अनि म तल ओर्लिआउनेछु, र त्यहाँ तँसँग बोल्नेछु। म तँसँग भएको आत्माको शक्ति लिएर त्यो तिनीहरूमाथि हालिदिनेछु। तिनीहरूले तँसँग भएका मानिसहरूको भार बेहोर्नेछन्, र तँ एकलैले त्यसलाई बोक्नुपर्नेछैन।
“मानिसहरूलाई भन्, ‘भोलि तिमीहरूले मासु खाने तयारीका निम्ति आफूलाई शुद्ध बनाउनू। तिमीहरूको यस्तो गुनासो याहवेहले सुन्नुभएको छ, “यदि हामीसित खानलाई मासु मात्र भइदिए त! हामीलाई इजिप्टमा अझ राम्रो थियो!” अब याहवेहले तिमीहरूलाई मासु दिनुहुनेछ, र तिमीहरूले त्यो खानेछौ।
तिमीहरूले मासु एक दिन, दुई दिन, पाँच, दश अथवा बीस दिनसम्मलाई मात्र खानेछैनौ।
तर पूरा एक महिनासम्म नाक लागेर वाक्क भइन्जेलसम्म खान पाउनेछौ। किनकि तिमीहरूले आफ्ना बीचमा हुनुभएका याहवेहलाई इन्कार गरेका छौ, र उहाँको सामु “हामीले किन इजिप्ट छोडेर आयौँ होला?” भनी रोएका छौँ।’ ”
तर मोशाले याहवेहलाई भने, “यहाँ मसँग पैदल हिँड्नेहरू छ लाख पुरुषहरू छन्। अनि तपाईं भन्नुहुन्छ, ‘म तिनीहरूलाई एक महिनासम्म मासु खानलाई दिनेछु!’
के तिनीहरूका लागि बगाल र बथान मारे तापनि तिनीहरूलाई पर्याप्त गरी पुग्ला र? के समुद्रमा भएका सबै माछा पक्रिए तापनि तिनीहरूका लागि पर्याप्त पुग्ला र?”
याहवेहले मोशालाई जवाफ दिनुभयो, “के याहवेहको हात त्यति छोटो छ? म जे भन्छु, त्यो तिमीहरूका निम्ति साँचो हुन्छ कि हुँदैन, सो अब तैँले देख्नेछस्।”
यसकारण मोशा बाहिर गएर याहवेहले भन्नुभएको कुरा मानिसहरूलाई भने। मोशाले तिनीहरूका प्रधानहरूमध्ये सत्तरी जनालाई एकसाथ ल्याएर तिनीहरूलाई पालको वरिपरि उभ्याए।
त्यसपछि याहवेह बादलमा ओर्लिआउनुभयो, र मोशासँग बोल्नुभयो। अनि उहाँले तिनमा भएका आत्माको शक्तिबाट केही लिएर सत्तरी जना प्रधानहरूलाई दिनुभयो। जब आत्मा तिनीहरूमाथि आएर बस्नुभयो, तब तिनीहरूले अगमवाणी गरे। तर त्यसपछि भने तिनीहरूले फेरि कहिल्यै त्यसो गरेनन्।
तर पनि एल्दाद र मेदाद नाम भएका दुई जना मानिसहरूचाहिँ छाउनीमै बसेका थिए। तिनीहरू दुवैका नाम प्रधानहरूका सूचीमा थिए। तिनीहरू बाहिर पालमा गएनन्। तर पनि तिनीहरूमाथि आत्मा बस्नुभएको थियो। अनि तिनीहरूले छाउनीमै अगमवाणी गरे।
तब एक जना जवान दौडेर गयो, र मोशालाई भन्यो, “एल्दाद र मेदादले छाउनीभित्र अगमवाणी गरिरहेका छन्।”
नूनका छोरा यहोशू, जो युवावस्थादेखि नै मोशाका सहायक थिए, तब तिनले भने, “हे मेरा प्रभु मोशा, तिनीहरूलाई रोक्नुहोस्!”
तर मोशाले यहोशूलाई जवाफ दिए, “के तिमी मेरो खातिर डाही भएका छौ? याहवेहले आफ्ना आत्मा सबै मानिसहरूमाथि राखिदिनुभएको भए ती सबै अगमवक्ता भइदिए कति असल हुनेथियो!”
त्यसपछि मोशा र इस्राएलका प्रधानहरू पालमा फर्के।
याहवेहबाट बतास निस्केर गयो। अनि समुद्रबाट बट्टाई चराहरू धपाएर ल्यायो। ती चराहरू एक दिनको बाटोजतिको दूरीमा चारैतिर, तिनीहरूका छाउनीको वरिपरि भुइँदेखि दुई क्यूबिट माथिसम्म थुप्रिए।
त्यस दिनभरि, रातभरि र भोलिपल्ट दिनभरि मानिसहरूले बाहिर गएर बट्टाई चराहरू बटुले। कसैले पनि दश ओमेर भन्दा कम्ती बटुलेनन्। त्यसपछि तिनीहरूले ती छाउनीको चारैतिर फिँजाए।
तर मासु तिनीहरूका दाँतको बीचमा छँदै, मासु निल्नुभन्दा अगि नै याहवेहको क्रोध तिनीहरूमाथि दन्क्यो। अनि उहाँले तिनीहरूलाई डरलाग्दो महामारीले प्रहार गर्नुभयो।
यसकारण त्यस ठाउँको नाम किब्रोत-हत्तावा राखियो। किनकि त्यहाँ अन्य भोजनको निम्ति अति लालच गर्नेहरूलाई गाडिएको थियो।
किब्रोत-हत्तावाबाट मानिसहरू यात्रा गरेर हसेरोतमा पुगे। अनि त्यहीँ बसे।