याहवेहले मोशा र हारूनलाई भन्नुभयो:
JA
Copywork
Nepali ONCV Numbers 4장
写経は速く終える入力練習ではなく、一節ずつみ言葉の文と流れを改めて受け止める時間です。入力内容はこのブラウザに一時保存され、ログインするとアカウントにも保存されます。
小見出し単位で進める · Numbers
“लेवीहरूमा कहातीहरूको घरानाबाट तिनीहरूका वंश र परिवारअनुसार गन्ती गर्नू।
भेट हुने पालमा सेवा गर्न आउने तीस वर्षदेखि पचास वर्षसम्मका पुरुषहरू सबैलाई गन्ती गर्नू।”
भेट हुने पालमा कहातीहरूले गर्नुपर्ने काम यही हो: महा-पवित्र चीजहरूको हेरचाह गर्नुपर्नेछ।
जब छाउनी सार्नुपर्ने हुन्छ, तब हारून र उसका छोराहरू भित्र गएर छेक्ने पर्दा तल झारून् र साक्षी पाटीको सन्दुकलाई ढाकून्।
त्यसपछि तिनीहरूले पर्दालाई नरम छालाले ढाकेर त्यसमाथि पूरै निलो लुगा फिँजाइदेऊन्, र त्यसका डण्डाहरू ठिक ठाउँमा राखिदेऊन्।
उपस्थितिको रोटीको टेबुलमाथि तिनीहरूले निलो लुगा ओछ्याएर त्यसमाथि थालहरू, भाँडाहरू, बाटाहरू र अर्घबलिका कचौराहरू राखून्; सधैँ रहिरहनुपर्ने रोटी त्यहाँ टेबुलमाथि हुनुपर्छ।
टेबुलमा भएका कुराहरूमाथि तिनीहरूले एउटा रातो रङ्गको कपडा ओछ्याऊन्, र त्यसलाई नरम छालाले ढाकेर त्यसका डण्डाहरू ठिक ठाउँमा राखिदेऊन्।
तिनीहरूले एउटा निलो लुगा लिएर उज्यालोका निम्ति राखिएको पानसलाई त्यसका बत्तीहरूसँग, त्यसका सलेदो काट्ने चिम्टाहरू, मोसोदानी र जैतुनको तेलका भाँडाहरूसमेत छोपेर राखून्।
त्यसपछि तिनीहरूले त्यसका सरसामानहरूलाई नरम छालाले बेह्रेर बोक्ने डण्डामाथि राखून्।
सुनको वेदीमाथि तिनीहरूले एउटा निलो कपडा फिँजाएर त्यसलाई नरम छालाले छोपिदेऊन् र त्यसका डण्डाहरूलाई ठिक ठाउँमा राखिदेऊन्।
तिनीहरूले पवित्र वासस्थानमा सेवा गर्दा प्रयोग गरिने सबै सामानहरू लिएर र निलो रङ्गको कपडाले बेह्रेर नरम छालाले छोपेर तिनीहरूलाई बोक्ने डण्डामा राखून्।
तिनीहरूले काँसोको वेदीबाट खरानी निकालून्, र त्यसमाथि एउटा बैजनी कपडा ओछ्याऊन्।
त्यसपछि तिनीहरूले बैजनी कपडामाथि वेदीमा सेवा गर्दा प्रयोग गरिने सबै भाँडाहरूका साथमा तावाहरू, मासु तान्ने काँटाहरू, बेल्चाहरू र पानी छर्कने बाटाहरू राखिदेऊन्। त्यसमाथि तिनीहरूले नरम छालाले ढाकेर छोपून् र बोक्ने डण्डाहरू ठिक ठाउँमा राखून्।
हारून र त्यसका छोराहरूले पवित्र सरसामानहरू र सबै पवित्र चीजहरूलाई छोपिसकेपछि, जब छाउनी अगि सार्न तयार हुन्छ, तब ती बोक्नलाई कहातीहरू मात्र आऊन् र बोकून्। तर तिनीहरूले पवित्र कुराहरूलाई नछोऊन्, नत्रता तिनीहरू मर्नेछन्। कहातीहरूले मात्र भेट हुने पालमा भएका सबै कुराहरू बोकून्।
“पुजारी हारूनको छोरा एलाजारको जिम्मामा बत्तीको निम्ति तेल, सुगन्धित धूप, नियमित अन्नबलि र अभिषेकको तेल रहनेछ। सम्पूर्ण समागम पाल र त्यसमा भएका हरेक कुराहरूसहित, यसका पवित्र सरसामानहरू र चीजहरू उसको जिम्मामा रहनेछ।”
याहवेहले मोशा र हारूनलाई भन्नुभयो,
“कहातीका कुलहरूलाई लेवीका वंशहरूबाट नाश हुन नदेओ।
तिनीहरू महा-पवित्र कुराहरूको नजिक आउँदा नमरून्, तर जीवित रहून्; त्यसैले तिनीहरूका निम्ति यो कुरा गर्नुपर्छ: हारून र त्यसका छोराहरू पवित्रस्थानभित्र जाऊन्, र प्रत्येक मानिसलाई त्यसको काम र त्यसले के बोक्नुपर्छ, त्यो जिम्मेवारी सुम्पिदेऊन्।
तर कहातीहरू पवित्र कुराहरू हेर्नका लागि एकैछिनको निम्ति भए तापनि भित्र नजाऊन्, नत्रता तिनीहरू मर्नेछन्।”
याहवेहले मोशालाई भन्नुभयो,
“गेर्शोनीहरूको पनि तिनीहरूका परिवार र वंशअनुसार जनगणना गर्नू।
भेट हुने पालमा सेवाको काम गर्न आउने, तीस वर्षदेखि पचास वर्षसम्म उमेर पुगेकाहरू सबै मानिसहरूका गन्ती गर्नू।”
गेर्शोनी वंशकाहरूले बोक्नुपर्ने र अरू गर्नुपर्ने सेवा यही हो:
“तिनीहरूले समागम पालका पर्दाहरू, भेट हुने पाल, त्यसको छोप्ने र त्यसको बाहिरी ढाक्ने नरम छाला, भेट हुने पालको प्रवेशद्वारका पर्दाहरू,
समागम पाल र वेदीका चारैतिरका चोकका पर्दाहरू, चोकको ढोकाको पर्दा, डोरीहरू र पालको सेवामा प्रयोग गरिने सबै सरसामानहरू बोकून्। यी सबै कुराहरूबाट हुनुपर्ने सबै सेवाका कामहरू गेर्शोनीहरूले गरून्।
तिनीहरूका सबै सेवाहरू, चाहे बोक्ने काम, अर्थात् गर्नुपर्ने अरू कामहरू हारून र त्यसका छोराहरूको निर्देशनमा गेर्शोनीहरूले गर्नुपर्छ। तैँले तिनीहरूले बोक्ने सबै कुराहरू तिनीहरूको जिम्मामा लगाइदिनू।
भेट हुने पालमा गेर्शोनी वंशकाहरूले गर्नुपर्ने सेवा यही हो। तिनीहरूका कर्तव्यहरू पुजारी हारूनको छोरा ईतामारको निर्देशनमा होऊन्।
“मरारीहरूलाई तिनीहरूका वंश र परिवारअनुसार गन्ती गर्नू।
भेट हुने पालमा सेवा गर्न आउने तीस वर्षदेखि पचास वर्षसम्म उमेर भएका सबै मानिसहरूको गन्ती गर्नू।
भेट हुने पालमा तिनीहरूको कर्तव्य यही हो: तिनीहरूले समागम पालका चौकसहरू, त्यसका कोठे बारहरू, खम्बाहरू र आधारहरू बोकून्;
अनि चोकका चारैतिरका खम्बाहरू त्यसका आधारहरूका साथमा, पालका किलाहरू, डोरीहरू, सबै सामानहरू र त्यसमा प्रयोग गरिने सबै कुराहरू बोकून्। हरेक मानिसलाई उनीहरूले बोक्नुपर्ने कुराहरू तोकिदिनू।
मरारी वंशकाहरूले भेट हुने पालमा हारून पुजारीको छोरा ईतामारको निर्देशनमा सेवा गर्दा गर्नुपर्ने जिम्मेवारी यही हो।”
मोशा, हारून र समुदायका अगुवाहरूले कहातीहरूलाई तिनीहरूका वंश र परिवारहरूको आधारमा गन्ती गरे।
भेट हुने पालमा सेवा गर्न आउने तीस वर्षदेखि पचास वर्षसम्म उमेर भएका सबै मानिसहरू,
तिनीहरूका वंशअनुसार गनिएकाहरू 2,750 थिए।
भेट हुने पालमा सेवा गर्ने कहाती वंशहरूको जम्मा संख्या यही थियो। याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार मोशा र हारूनले तिनीहरूका गन्ती गरेका थिए।
गेर्शोनीहरू, तिनीहरूका वंश र परिवारअनुसार गनिएका थिए।
भेट हुने पालको कामका निम्ति सेवा गर्न आएकाहरू, जो तीस वर्षदेखि पचास वर्ष उमेर भएका सबै मानिसहरू,
तिनका वंश र परिवारअनुसार गनिएकाहरू 2,630 थिए।
भेट हुने पालको काममा सेवा गर्ने सबै गेर्शोनीहरूका परिवारको पूरा संख्या यही थियो। याहवेहको आज्ञाअनुसार मोशा र हारूनले तिनीहरूलाई गनेका थिए।
मरारीहरू तिनीहरूका वंश र परिवारअनुसार गनिएका थिए।
भेट हुने पालको काममा सेवा गर्न आउने तीस वर्षदेखि पचास वर्ष उमेरका सबै मानिसहरू,
तिनीहरूका वंशअनुसार गनिएकाहरू 3,200 थिए।
मरारी वंशकाहरूको जम्मा संख्या यही थियो। याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार मोशा र हारूनले तिनीहरूको गन्ती गरेका थिए।
यसरी मोशा, हारून र इस्राएलीहरूका अगुवाहरूले सबै लेवीहरूलाई वंश र परिवारअनुसार गन्ती गरेका थिए।
भेट हुने पाल बोक्ने र सेवाको काम गर्न आउने तीस वर्षदेखि माथि पचास वर्ष उमेरसम्मका सबै मानिसहरूका
संख्या 8,580 थियो।
याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार हरेकलाई तिनीहरूको काम र के बोक्नुपर्ने हो, त्यो जिम्मेवारी सुम्पिदिएका थिए।